सरकारले भन्यो – अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

  •  
  •  
  •  
  •  
  •  
  •  

५ चैत, काठमाडौं :

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।

त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ ।

र यो पनि पढ्नुहोस्

शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भन्यो ‘३ हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू, भर्ना पनि नगर्नू’
सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् ।

‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा भर्ना र प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकासन गर्ने समयसम्म विद्यालय बन्द नै हुने भएकाले ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनिएको हो ।’

संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि बिद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैमा अनुरोध गरिएको छ ।

२०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत ६ गतेदेखि १७ गतेसम्म हुने भएकाले कसैलाई भ्रममा नपर्न समेत विज्ञप्तीमा जानकारी दिइएको छ ।कक्षा १ देखि ९ सम्मको परीक्षा भोलि सकिँदै छ । कोरोना भाइरसका कारण विद्यालयको परीक्षा अगाडि सारिएको थियो ।

१ महिना स्कुल सञ्चालन नहुने भएपछि संस्थागत विद्यालय (बोर्डिङ्ग स्कुल)हरुले एक महिनाको विद्यालयको शुल्क मिनाहा हुनुपर्छ भन्दै आवाज उठीरहेको छ । एक महिनाको शुल्क मिनाहा हुनुपर्छ भन्ने आसयको एउटा स्टाटस हामीले आज बिहान फेसबुकमा राख्दा त्यसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *