विदेशी बुहारीलाई एक हातमा सिन्दुर र अर्काे हातमा नागरिकता दिने पक्षमा काँग्रेस

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झण्डै दुई वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै सरकारले समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक तहबाट सहमति जुटाउन अवश्यक रहेको भन्दै समय माग गर्नुभएको थियो ।

सरकारका तर्फबाट गृहमन्त्रीले नै समय माग गरेपछि पाँच दिनको समय दिइएको समिति सभापति शशी श्रेष्ठले बताउनुभयो । उहाँले आउँदो आइतबारसम्म सहमति जुटाउनका लागि समय दिइएको बताउँदै संसदको जारी अधिवेशनबाटै नागरिकता विधेयक अघि बढाउनुपर्ने बताउनुभयो ।हिजो बसेको समितिको बैठकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावमा सत्तारुढ सांसदहरु सहमत भएपनि प्रमुख विपक्षी कांग्रेसले छलफलका लागि समय माग गरेको थियो ।

तर वैवाहिक अंगीकृत नागरिकताबारे नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको हो । कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले नेपालीसँग विावह गरेकी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रस्ताव संविधान विपरित हुने जिकिर गर्नुभयो ।

कांग्रेस सासद अमरेश कुमार सिंहले पनि नागरिकताबारे संविधानमा भएको व्यवस्था फेर्न नमिल्ने बताउनुभयो । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता प्रदान गर्दा राज्यका उच्च पदमा बस्न नपाइने व्यवस्था संविधानमै रहेकोले त्यसमा थप बन्देज लगाउन आवश्यक नरहेको उहाँले बताउनुभयो ।

तर सत्तारुढ नेकपाका सांसदहरुले भने मुलुकको स्वाधिनता रक्षाका लागि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई एक हातमा सिन्दुर र अर्काे हातमा नागरिकता दिन सकिने व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । नेकपाका सांसद झपट रावलले विदेशी बुहारीलाई नागरिकता दिने यति सजिलो व्यवस्था विश्वका अरु कुनै मुलुकमा नरहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *