चिकित्सकसँग ठट्टा गर्दै प्रधानमन्त्री ओली

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज

किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् । बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे । उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए । उनले आफूलाई अझै १५-२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्ना बावु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए । ‘मिर्गौलाले काम गर्न थाल्यो अब मलाई १५-२० वर्ष केही हुँदैन’ ओलीले ठट्यौली शैलीमा चिकित्सकसँग भने ‘मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु होला हैन ?’ प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन् ।

प्रधानमन्त्री ओली हिँड्न थाले
प्रधानमन्त्री केपी शर्मा ओली हिँड्डुल गर्न थालेका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ ।मिर्गौला प्रत्यारोपण भएको तेस्रो दिन उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मोबाइलमा कुरा गर्दै भने, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु ।’ सो क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले पहिलोपटक भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । तर, चिकित्सकहरूले अन्य कसैलाई पनि भेट्न दिएका छैनन् ।

चिकित्सकका अनुसार शुक्रबारदेखि उनलाई हिँडडुल गराउन थालिएको छ । साथै प्रधानमन्त्री ओलीलाई ठोस आहार पनि दिन थालिएको छ ।शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचकहरू पनि सामान्य अवस्थामा छन् । क्रमिक रूपमा सुधार हुँदै आए प्रधानमन्त्री ओलीलाई सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । यद्यपि, स्वास्थ्यमा उतार चढाव देखिए केही दिन लम्बिन सक्ने चिकित्सकले बताएका छन् ।

यस्तै, प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको छ । उनलाई पनि ठोस खानेकुरा दिन थालिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *