सरकार एमसीसी तुहाउने खेलमा लाग्यो, उपसभापति निधि भन्छन्, ‘तत्काल संसदमा टेबुल गरियोस्’

  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको बर्तमान सरकार देश हितको पक्षमा रहेको एमसीसी परियोजना तुहाउने खेलमा लागेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा बुधबार आयोजित जुम कम्फरेन्सलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले देशलाई आत्मनिर्भर बनाउने एमसीसी परियोजना अघि नबढाएमा भोलि गएर पछुताउनु पर्ने अबस्था आउने दाबी गरे।

तत्कालीन एमालेका कारण अरुण तेस्रो परियोजना अघि बढ्न नसकेको स्मरण गराउँदै उनले अहिले आएर भारतीय कम्पनीलाई अरुण तेस्रोको जिम्मा लगाउनु परेको बताए। हिजोको त्यो गलत निर्णयका कारण अरुण तेस्रो परियोजना २५ बर्ष पछाडि धकेलिएको बास्तबिकता भुलेर कम्युनिष्टहरुले मुलुकलाई अन्धकारतर्फ धकेल्न खोजेको निधिको भनाई थियो।

एमसीसी परियोजनाको जस कांग्रेसलाई जाने भयका कारण कम्युनिष्टहरु यसलाई असफल बनाउन लागि परेको उनले बताए। देशहितका परियोजना अघि बढाउनु सरकारको दायित्व भएको भन्दै कांग्रेस उपसभापति निधिले तत्काल संसदमा टेबुल गरेर यसलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। नीति तथा कार्यक्रममा उल्लेख गरिएको परियोजनालाई अघि बढाउनुको बिकल्प नभएको निधिको भनाई थियो।

जुम कम्फरेन्समा पूर्ब अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका बारेमा अनेक भ्रम सिर्जना गरिएको भन्दै उर्जालाई समृद्धिको आधार बनाउनका लागि एमसीसी कोशेढुंगा साबित हुने बताए। उनले बाहिर भएको एमसीसीको बहसलाई संसदभित्र ल्याएर टेबुल गर्नुको बिकल्प नभएको बताए।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसालले देशहितका पक्षमा रहेको एमसीसी परियोजना कुनै पनि हालतमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा योजना आयोगका पूर्ब उपाध्यक्षद्धय डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्लेले एमसीसीको पृष्ठभूमि र यसको महत्वबारे चर्चा गरेका थिए। उनीहरुले नेपालको विकासका लागि अमेरिकी सहयोगको परियोजना अघि बढ्न नसकेमा अनुदानको रकमबाट समेत काम गर्न नसक्नेले ऋण कसरी तिर्न सक्छन् भनेर अरुले पत्याउन नसक्ने अबस्था आउने र त्यसबाट अन्ततः अन्तर्राष्टिय स्तरमा नेपालको बिश्वासनीयता गुम्ने खतरा आउन सक्नेतर्फ सरकार र नागरिक समाजको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *