रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना, यी हुन् सवा २ अर्बका सामग्री

0
22

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै जिटुजीमार्फत् नेपाली सेनाले चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको विषय खुलासा भयो। यो खुलासासँगै संगठन बदनाम भएको भन्दै सेना मेडिकल सामान खरिदको प्रक्रियाबाट भने बाहिरिएको छ।

ओम्नीमार्फत् स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री ईश्वर पोखरेलले खरिदको जिम्मा नेपाली सेनालाई दिएका थिए। विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य उच्च भएको सार्वजनिक भएपछि सैनिक नेतृत्व रक्षामन्त्रीले फसाएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ।

मन्त्रिपरिषद्‍बाट जिम्मा पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री पोखरेल हाबी भएका थिए। पोखरेलको निर्देशनअनुसार खरिद सम्झौता गरेर भित्र्याएको मेडिकल सामग्री यस अगाडि ओम्नीमार्फत किनिएका र विभागले खरिद गरेको सामग्रीको मूल्यभन्दा तीन गुणासम्म बढी भएको खुलेपछि संगठन विवादमा तानिएको थियो।

सेनाले चीनबाट जिटुजीमार्फत् ६७ वटा शीर्षकमा विभिन्न प्रकारका मेडिकल सामग्री खरिद गरी नेपाल ल्याएको छ। सेनाले चीनसँग बैसाखको पहिलो साता सम्झौता गर्दै जेठ ३ गते पहिलोपटक स्थलमार्ग हुँदै मेडिकल सामग्री नेपाल ल्याएको थियो। साथै सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत् पनि दई पटक मेडिकल सामग्री नेपाल ल्याइसकेको छ।तर, सेनाले जिटुजीमार्फत मेडिकल सामग्री ल्याउँदा अहिले नेपाली बजारमा पाइने मूल्यभन्दा तेब्बरसम्म बढी मूल्यमा खरिद गरेको खुलेको छ। सेनाले चीनबाट खरिद गरेको मेडिकल सामग्री, परिमाण, मूल्य र त्यसको मापदण्डका सबै विवरण नेपाल लाइभलाई प्राप्त भएको छ। अनियमितता भएको छैन भन्ने प्रमाण लुकाउन कतिपय सामग्री सस्तोमा पनि खरिद गरेको देखिन्छ। तर, परिमाण र मूल्य धेरै भएको सामग्रीमा भने तेब्बर बढी खर्च गरेको नेपाल लाइभले पाएको खरिद विवरणमा उल्लेख छ।

सेनाले खरिद गरेको मेडिकल सामग्रीमा भएको अनियमितताको विषय नेपाललाइभले यसअघि नै ‘सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला, कुन सामानमा कति? शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा नेपाल लाइभले बढी रकम खर्च गर्दै सेनाले खरिद गरेको १५ वटा सामग्रीको मूल्यसहितको विवरण समेत सार्वजनिक गरेको थियो।

उक्त सामाचार प्रकाशित भएपछि सेनाले जिटुजीमा चीनबाट संकटको बेला मेडिकल सामग्री खरिद गर्दा बढी मूल्य परेको स्वीकारसमेत गरिसकेको छ। मेडिकल सामग्री खरिदमा भएको घोटाला सार्वजनिक भएपछि सैनिक संगठन विवादमा परेको छ। राष्ट्रिय सेना ठेक्कापट्टा र मन्त्रीहरूको स्वार्थबमोजिमका सामग्री खरिदमा लागेको भन्दै आलोचना भएपछि सरकारले जिम्मेवारी दिएपनि मेडिकल सामग्री खरिद नगर्ने भन्दै सैनिक नेतृत्वले सरकारलाई जानकारी गराइसकेको रक्षा मन्त्रालय स्रोत बताउँछ।

‘जिटुजीमा मेडिकल सामग्री खरिद गर्दा मंहगा मूल्य तिरेकै हो। तर, विवादमा पार्ने काम भयो,’ सैनिक स्रोतले नेपाल लाइभलाई भन्यो, ‘अब सेनाले मेडिकल सामग्री खरिद गर्दैन। यो विषयमा प्रधानमन्त्री तथा विभागीय रक्षा मन्त्रालयमा औपचारिक रुपमै पत्रचार गरिसकेका छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here