डडेल्धुरामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लालाई सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गरिएको हो ।
अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सिल गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
‘जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यवसाय सबै बन्द गरिएको छ । अत्यावश्यक सेवाका कार्यालय, स्वास्थ्यसँग सम्बन्धित संघसंस्था खुला रहन्छन्’, उनले भने, ‘अत्यावश्यक सवारीसाधन पनि सञ्चालन हुन्छन् । अनावश्यक रूपमा बाहिर कसैलाई हिँड्डुल गर्न दिदैनौँ ।’
सरकारले पसल र कार्यालय खोल्ने निर्णय गरेसँगै जिल्ला सदरमुकाममा चहलपहल बढेको थियो ।सवारीसाधन र मानिसहरूको चाप बढ्दै गइरहेका बेला डडेल्धुरामा बिहीबार एकै दिन ८६ जना नयाँ संक्रमित थपिएका थिए ।
जिल्लामा शुक्रबारसम्म १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गन्यापधुरामा गाउँपालिकामा क्वारेन्टाइनमा बसेर घर गएका ५६ जनामा कोरोना पुष्टि भएपछि बिहीबारदेखि नै गाउँपालिका सिल गरिएको थियो ।