प्रधानमन्त्री कार्यालयले तिरेन चिनियाँ राष्ट्रपति भ्रमणमा फूल र गमला सजाउने किसानको पैसा

0
22

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरी फर्केको झण्डै १० महिना भइसक्यो तर उनका लागि सजावटमा प्रयोग गरिएका बोट विरुवा तथा फूलको भुक्तानी किसानले अझै पाएका छैनन् । फूल तथा गमलासहित बोटविरुवा रोपेर बाटो सजाएका नर्सरीका किसानहरुले सिंहदरबारको चक्कर लगाउँदा पनि भुक्तानी पाउन नसकेका हुन् ।

सिंहदरवारका कर्मचारीहरुले उनीहरुलाई कहिले अर्थ मन्त्रालय पठाउँछन् त कहिले वन मन्त्रालय, कहिले वन तथा वनस्पति विभाग त कहिले वनस्पति उद्यान केन्द्र धाउन लगाउँछन् । यही गोलचक्करमा उनीहरुले हालसम्म रकम हात पार्न सकेको छैनन् ।

काठमाडौं नर्सरीका प्रमुख एवम् फ्लोरी कल्चर एशोसिएशनका अध्यक्ष कुमार कजसुले काम गरेको भुक्तानी लिन १० महिनादेखि प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न निकायमा चक्कर लगाइ रहेको तर हालसम्म सो रकम प्राप्त नगरेको बताए । उनले भने, ‘हामीले झण्डै एक करोडको काम गरेका थियौँ, महानगरपालिका लगायत अन्य निकायबाट गराइएको कामको भुक्तानी प्राप्त भइसकेको छ तर प्रधानमन्त्री कार्यालयमार्फत भएको कामको भुक्तानी हालसम्म भएको छैन ।’ प्रधानमन्त्री कार्यालयमार्फत भएको कामको ४२ लाख भुक्तानी लिन बाँकी छ । काठमाडौं नर्सरी, मुस्कान नर्संरी, थापा नर्सरी र एभरग्रीन नर्सरी गरी जम्मा चारवटा नर्सरीले त्यसका लागि काम गरेका थिए ।

उनले भने, ‘शुरुमा वन मन्त्रालयका तत्कालिन सचिव विश्वनाथ ओलीले आफूहरुलाई बोलाएर फूल तथा बोट विरुवाका लागि कुरा गरेका थिए । सचिव ओलीले यो काम सिंहदरवारमा रहेको सिंहदरवार वनस्पति उद्यान केन्द्रलाई दिए । यो वन विभाग अन्तर्गतको केन्द्र हो ।’ केन्द्रका प्रमुख डम्बर कार्कीले चिनियाँ राष्ट्रपति सी आउने बेला भइसक्यो यो छिट्टो सकाउनुपर्छ भनेका थिए ।

समान ढुवानी गर्न गाडी र मान्छेसमेत दिने भनेर ४८ घण्टाभित्र नै फटाफट काम सकाउन भनिएको थियो । अध्यक्ष कजसुले आफूले सम्झौता गरी एडभान्स दिन पनि आग्रह गरेको तर ‘भइहाल्छ नि काम शुरु गर्नुस् नि यताको प्रकृया शुरु हुँदै गर्छ उता तपाईंहरु काम गर्दै गर्नु’ भनेर काममा लगाएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here