‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, श्रीमती १६ करोडको गाडीमा ?’

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । शीर्षकमा प्रयोग गरिएको वाक्यांश अनलाइनखबरको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको बोली हो । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको साइकल र उहाँकी धर्मपत्नीले चढ्ने गाडीबारे अप्राशंगिक तुलना गरे ।

पार्टीभित्र ओली गुटका रुपमा जिल्ला तहसम्म सञ्जाल विकसित मदन भण्डारी फाउण्डेसनको संरक्षकका रुपमा प्रधानमन्त्री ओली आइतबारको कार्यक्रममा सहभागी भएका हुन् ।

जननेतालाई सम्झने कार्यक्रममा गुटका नेताहरु मात्र सहभागी थिए, जहाँ मदन भण्डारीबाट सिक्नुपर्ने विषयहरुबारे चर्चा भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारी साइकलमा हिँड्ने गर्नुहुन्थ्यो । अहिलेका नेताहरु, उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्ने ?…..अब यो ईष्याभावका कुरा नगरौं ।’

आफ्नै कोखबाट तेस्रोपुस्ताको जन्म हुँदैन : भण्डारी

बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठकमा प्रयोग भएका कुर्सी/टेबल हटाएर आइतबार दुईवटा बढेमाका सोफा राखिएका थिए । एउटा सोफामा प्रधानमन्त्री केपी शर्मा ओली बसे । समान लहरको अर्को सोफामा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी बसिन् । उनले मदन/विद्या भण्डारीकी छोरीका नभएर प्रतिष्ठानको अध्यक्षका रुपमा प्रधानमन्त्रीसँग मञ्च सेयर गरेकी हुन् ।

आफू राष्ट्रपति भएलगत्तै विद्याले अध्यक्ष पद छोरी उषाकिरणलाई हस्तान्तरण गरेकी थिइन् । अहिले जिल्ला तहमा संगठन निर्माण गरेर ‘मिनी पार्टी’का रुपमा हुर्काइएको यस प्रतिष्ठानको नेतृत्व उषाकिरणले नै गर्दै आइरहेकी छन् ।

त्यसो त यसघिको नेकपा केन्द्रीय कमिटीको बैठकमा नेतैपिच्छेका नाममा खोलिएका यस्ता प्रतिष्ठानहरु बन्द गर्नुपर्ने माग केन्द्रीय सदस्यहरुले गरेका थिए । यद्यपि, नेकपाको जारी स्थायी कमिटीको बैठकलाई समय दिन नभ्याएका प्रधानमन्त्री ओलीले आइतबार प्रतिष्ठानको कार्यक्रममा एक घण्टाभन्दा लामो प्रवचन दिए ।

नेताका नाममा खुलेको प्रतिष्ठानको एउटा केन्द्रीय निकायसम्म रहनु स्वाभाविकै भए पनि मदन भण्डारी प्रतिष्ठानले भने जिल्ला तहमा र अहिले स्थानीय तहमा पनि संगठन विस्तार गरिरहेको र त्यसमार्फत जनताको बहुदलीय जनवादको प्रचार गरिरहेको नेताहरु बताउँछन् । जबकि एकीकृत नेकपाले अहिले जबजको साटो जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा बनाइसकेको छ ।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्षतात्मक मन्तव्य दिँदा राष्ट्रपतिपुत्री उषाकिरणले आफ्ना पितालाई उधृत गर्दै एउटा तीतो यथार्थ ओकलिन्, ‘कम्युनिस्ट हुनु भनेको विचार र सिद्धान्तबाट निर्देशित हुनु हो ।….जननेताले भन्नुभएको थियो, आफ्नै कोखबाट तेस्रोपुस्ताको जन्म हुँदैन… ।’

बहुमतप्राप्त सरकारका प्रधानमन्त्री ओलीले आफूलाई भारतले हप्ता/पन्ध्र दिनयता प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको बताए । यसमा नेपालका नेतासमेत लागेको उनले आरोप लगाए । यसको प्रमाणका लागि उनले दूताबासको सक्रियता, यहाँका होटलका गतिविधिहरु र दिल्लीका मिडिया हेर्न आग्रह गरे ।

करिब सवा घण्टा लामो प्रधानमन्त्रीको भाषण हामीले जस्ताको त्यस्तै उतारेर पाठकमाझ पस्कने प्रयास गरेका छौं । तर, कतिपय सन्दर्भहरु भने उतार्न आवश्यक ठानेनौं ।

जस्तो कि– विश्वसाम्राज्यवाद र पुँजीवाद अनि मदन भण्डारीको जबजको बारेमा प्रधानमन्त्रीले गरेका कतिपय व्याख्यालाई छाडेर बाँकी सम्पादित भाषण हामीले उपशीर्षकहरुसहित यहाँ प्रस्तुत गरेका छौं–

मैले बोलेको बुझ्दैनन्, मदन भण्डारीले बोलेको के बुझ्नु ?

मदन भण्डारीमा भाषिक ज्ञान राम्रो थियो । कतिपयले मैले नै बोलेको बुझ्दैनन्, मदन भण्डारीले बोलेको नबुझ्नु त स्वाभाविकै हो । मैले विम्वहरु प्रयोग गर्छु । मैले उपमाहरु, दृष्टान्तहरु प्रयोग गर्छु । उखान टुक्का भनेर कराएर हिँड्छन् ।

उखान के हो, विम्व के हो ? उखान के हो उपमा र दृष्टान्त के हो ? हाम्रो भाषिक परम्परा, हाम्रो साहित्यिक परम्परा कस्तो छ ? त्यो विल्कुलै नबुझेका मान्छेहरु ! साधारणतया गाउँघरतिर पनि गाउँका हाम्रा दिदीबहिनी–दाजुभाइहरु घाँस काट्दाकाट्दै यस्ता रचनाहरु गर्छन्, यस्ता विम्वहरु प्रयोग गर्छन् । यस्ता प्रतीकहरु दिन्छन् । उपमाहरु दिन्छन् । यसको पृष्ठभूमिमा हामी संस्कृतमा गयौं भने एउटा कुरा भन्नुपर्‍यो भने त्यसलाई नबिर्सने गरी उपमा दिएर भन्ने गरिन्छ । ….उहाँ (मदन भण्डारी) ले प्रयोग गर्ने विम्वहरु, उपमाहरु साहित्यमा असाधारण छन् । जसले गर्दाखेरि जनताले उहाँले बोलेको भाषा बुझ्छन् र प्रभावित हुन्छन् ।

‘हप्ता/पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनिँदैछ’

नाकाबन्दीको हामीले सामना गर्‍यौं । नबनाऊ संविधान भन्दाभन्दै हामीले बनायौं । दुईवटा छिमेकीमध्ये एउटा छिमेकीमा निर्भर गरेर, आश्रित भएर, हामी भारतवेष्ठित भएर, खुम्चिएर बस्याथ्यौं ।

हामीले देखिसक्याथ्यौं, हिमालबाट पनि बाटो बन्न सक्छ । हिमाल क्रस गर्न सकिन्छ । विभिन्न पार्टसहरुबाट हामी हिमाल क्रस गर्न सक्छौं । दुईवटा छिमेकीमध्ये दुईवटैबाट यातायात र पारवहनका सुविधा प्रयोग गर्न सक्छौं । र, पारवाहन र यातायातको क्षेत्रमा हामी एक देशबाट वेष्ठित भएर, छेकिएर, भूपरिवेष्ठित मात्रै होइन, एक देशबाट वेष्ठित भएर बस्नुपर्दैन । हामीले मौका पाउनेवित्तिकै चीनसँग ट्रान्सफोर्ट एण्ड ट्राञ्जिट एग्रिमेन्ट गर्‍यौं । यो नेपाल राष्ट्रलाई एउटा नयाँ उचाइमा पुर्‍याउने कुरा हो । त्यसैगरी हामीले विभिन्न नाकाहरु खोल्यौं । हामीले नक्सा हाम्रो भूभाग सामेल गरेर, सच्याएर प्रकाशित गर्‍यौं । हामीले त्यसलाई संवैधानिक रुप दियौं ।

तपाई हामी सबैलाई थाहा छ जस्तो लाग्छ । तपाईहरुले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता/पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनिँदैछ । भारतका मिडियाहरु सुन्नुभएको होला । भारतका वौद्धिक बहसहरु सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ ।

हामीले के गर्‍यौं भन्दा लडाइँमा हामी हार्‍यौं, हाम्रा सीमा अलिकति खुम्चियो । हामीले १८१६ को मार्चमा अन्तिम सम्झौतामा हस्ताक्षर गर्‍यौं र त्यसको सीमामा हामी खुम्चिएर बस्यौं । तपाईहरुले सुन्नुभएको छ, कतिपय पार्टीका नेताहरु, विभिन्न पार्टीका नेताहरु, उताको जनसंख्यासँग हाम्रो पहुँच कस्तो छ…. १९६२ देखि सेना राखेर उतापट्टि जानै दिएको छैन, उताका जनतासँग सम्पर्कै गर्न दिएको छैन । उताका जनतामा हामीले के गर्‍या छौं, त्यहाँको नागरिकता कस्तो छ, रासन कार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरुले उठाइराखेका छन् । नागरिकता खल्तीमा नेपालको, तर अर्काको पक्षबाट बोलिराखेका छन् । १९६२ देखि सेना राखेर ब्लक गरेपछि कसरी उताका नागरिकहरुसँग हाम्रो सम्पर्क, सम्बन्ध हुन्छ ? त्यसकारण सम्पर्क, सम्बन्ध टुटाइयो । प्रमाण हेर्दैन उसले ।

अब झन गाह्रो हुन्छ ! यो नक्सा छापेपछि झन् गाह्रो हुन्छ । गाह्रो के हुन्छ ? जमीन गएको थियो, त्यो फिर्ता लिन खोज्दाखेरि गाह्रो भनेको के ? हामीलाई झन गाह्रो पर्छ भन्या के ? १४६ वर्षसम्म हामीले उपभोग गरेको जमीन ६२ देखि हामीले उपभोग गर्न पाएनौं । १४६ वर्ष उपभोग गरेको जमीन ५८ वर्षदेखि खोसिएको छ, यो फिर्ता ल्याउन हामीले खोज्यौं । हाम्रो जमीन फिर्ता ल्याउन खोज्यौं, अरुको जमीनमा दाबी गरेको होइन । अरुको जमीन अतिक्रमण, हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । तर, यहाँँ नेपालकै नेता लाग्या रछन् । बहस चल्या र छ । अहिले होइन, केपी ओलीलाई नहटाई हुँदैन ।

मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन, तर…..
पहिले यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो, त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब… भित्र–भित्रको कुरा हो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ ।

यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।

तर, म तपाईहरुलाई यत्ति भन्दिन्छु– नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम… । कोसिस गर्नेलाई त गर्न दिनू । तर, हिजोको जस्तो होइन । कसैले हतारो नगरे पनि हुन्छ । र, कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ ।

मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन । किनभने, भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजको लागि हैन, भोलिका लागि । आफ्ना लागि हैन, देशका लागि ।

र, हाम्रो पार्टी अनि संसदीय दल यस्ता बहकावमा कुद्नेवाला पनि छैन, यति कुरा नुबझ्ने, अञ्जान खेलमा सामेल हुनेवाला पनि छैन । यसको अगुवाईमा अहिलेका परिवर्तनहरु भएका छन् । किनभने, यसको पृष्ठभागका जननेता मदन भण्डारीका स्पष्ट विचारहरु छन् र त्यसबाट निर्देशित भएर यो पार्टी चल्या छ ।

अहिलेको संसदको दुईतिहाई जस्तो हिस्सा जननेता मदन भण्डारीका विचारहरुबाट निर्देशित भएर अगाडि बढेको छ । त्यसकारण भुलचूकले नक्सा छापिएको होइन । कतिपय मान्छेले मलाई भने, पोइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा, संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिर्टन । मैले भन्नेगर्‍या छु पोइन्ट अफ नो रिटर्न नै गर्‍या हो । यस अभियानबाट हामी फिर्तै हुँदैनौं । त्यसकारण यहाँ पोइन्ट अफ रिटर्न राख्ने कुरै थिएन । पोइन्ट अफ नो रिटर्न । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिइकन छोड्दैनौं । पोइन्ट अफ रिटर्न छैन । पोइन्ट अफ नो रिटर्न ।

राष्ट्रपति साइकलमा हिँड्दैनन्

मदन भण्डारी साइकलमा हिँड्ने गर्नुहुन्थ्यो । अहिलेका नेताहरु, उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्ने ? १६ करोडको गाडी नेपालमा छ कि छैन, आज छ कि छैन, त्यो आउँछ कि आउँदैन, मलाई थाहा छैन । १६ करोडको हैन, राष्ट्रपति हिँड्ने गाडी बाटामा जाँदाजाँदै स्टार्ट बन्द हुने पुरानो गाडी… अब यो ईष्याभावका कुरा नगरौं ।

राष्ट्रपति साइकलमा हिँड्दैनन् । हो, स्वीडेनका राजा साइकलमा हिँड्छन् । बडो चर्चा छ । मैले पनि कहिले–कहिले गर्छु चर्चा । तर, के गाडी नभएर साइकलमा हिँड्या हुन् ? गाडीमा हिँड्दैनन् ? स्कटिङ हुँदैन फङ्सनहरुमा ? त्यो कुरा होइन । स्कटिङ पनि हुन्छ, गाडी पनि हुन्छ, सबै कुरा हुन्छ । दरबार नजिकैको रेल्वे स्टेसनमा कहिले–कहिले उनी साइकल लिएर जान्छन्, त्यो अलग कुरा हो । साइकल लिएर जान्छन् । कहिले–कहिले उनी साइक्लिङ गर्छन् । सधैं उनलाई गाडी नै नभएको चाहिँ होइन ।

मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नुहोला । अनि साइकलै चलाउनुपर्छ भन्ने ! र, त्यो आलोचना गर्ने के मान्छे छन् भन्दा आम्दानी कति पादरर्शी छ थाहा छैन मलाई, तर, हिँड्न चाहिँ राम्रै गाडीमा हिँड्छन्, आलोचना गर्नेहरु ।

मदन भण्डारीलाई के आरोप लगाएका थिए भने–
मदन भण्डारी साइकलमा निस्कने । अर्को साथीले गाडी लिएर आउँछ, उहाँ हिँड्ने । चुनावमा उम्मेदवार भएर प्रचारमा जाँदा गाडी छैन । साइकलमा हिँड्नुपर्छ । त्यस्तो अवस्थामा एकजना, वहाँ यहीँ नक्सालमा हुनुहुन्छ थापाजी, उहाँले म आफैं ड्राइभ गर्छु र तपाईलाई चुनावभरि सघाउँछु भनेर आफैं ड्राइभ गरेर उहाँ ( मदन भण्डारी) लाई गाडीमा लिएर हिँड्नुभो । देशव्यापीरुपमा हल्ला चल्यो, पोष्टर टाँसिए, ज्ञानेन्द्रले दिएको रातो गाडीमा मदन भण्डारी हिँड्ने गर्‍या छन् भनेर । न्युज तपाईहरुले याद गर्नुभएको होला, ज्ञानेन्द्रले दिएको रातो गाडी । दरबारसँगको कनेक्सन भनेर मदन भण्डारीजस्तो व्यक्तिलाई ।

भौतिकवादीको एउटा खराबी के छ भने कि त्यसले पाप धर्म भन्ने पनि मान्दैन । पाप लाग्छ भन्ने पनि मान्दैन । सत्य र निष्ठा छोड्दिएपछि त जे भने पनि भो, जे गरे पनि भो । पापको डर छैन, नर्क जाउँला भन्ने छैन । केही छैन । त्यसैले भौतिकवादीहरु भ्रष्ट भए भने खतरनाक हुन्छन् । इमान छोडेको भौतिकवादी बहुतै खतरनाक हुन्छ ।

गाउँको झुत्रेझाम्रे, भैंसी गोठालो !
म जनताको सेवक बन्न चाहन्छु । तर, आजकल हामीले कुरा गर्ने गरेका छौं । राष्ट्रपतिको…विरोध गर्छन् । कहिले कर्मचारीले किनेर राष्ट्रपति भवनमा, कार्यालयमा राखेको कार्पेटको चर्चा गरेर राष्ट्रपतिको विरोध गर्छन् । राजतन्त्र हुँदा विरोध गर्दैनन् ।

अहिले मेरो सन्दर्भमा पनि भन्छन् ।

तपाईहरुले देखिरहनुभएको छ, मैले खुट्टामा जुत्ता लाएको छु, केहीलाई असाध्यै पीर परेको छ । सही नसक्नुभएको छ । यो मान्छे त कहीँ भैंसी चराउने गोठालो हो । कहिले कहिले चप्पल लाउँथ्यो, कहिलेकाँही खाली खुट्टा हिँड्थ्यो । यो त गाईभैंसी चराएर खाली खुट्टा हिँड्नुपर्ने मान्छे हो । यो जुत्ता लगाएर यहाँ प्रधानमन्त्रीका कुर्सीमा बस्न मिल्ने होइन भन्ने पीर छ । पिर परेको छ उनीहरुलाई ।

म शासनलाई जनताको सेवा भनेर ठान्ने मान्छे हुँ भन्दै आएको छु । हामी शासक होइनौं । हामीलाई शासक बन्ने ईच्छा पनि छैन । र, म शासक हुन जन्मिएको होइन, देशको सेवा गर्न जन्मिएको मान्छे हुँ ।

मैले राजनीतिक जीवन सुरु गर्दा कहिल्यै पनि शासकको परिकल्पना गरिनँ । जेलमा बस्दा पनि म सही मान्यतामा अडिएको छु । यस देशको सेवा म जेलमा बस्दा पनि गरिरहेको छु भन्ने ठान्थें । जेलमा बस्दा पनि सही मान्यतामा म अडेको छु, सही मान्यतामाका लागि लडेको छु र त्यसै कारण मेरो जेल बसाई भएको छ । त्यो मेरो हेक्कामा छ । म आज पनि आफूलाई जनताको सेवक नै ठान्दछु र त्यही इमान्दारिताका साथ काम गर्दछु ।

तर, केहीलाई पीर छ । थुप्रैले भन्छन्, थुप्रै बुद्धिजीवीहरुले टेलिभिजन प्रोग्रामहरुमा भनेको सुनेको छु, त्यो चप्पल लगाएर आएको मान्छे ! भूमिगत हुँदा तेल्लाई मैले भेट्याथें, चप्पल लगाएर हिँडिराख्याथ्यो । आज जुत्ता लगाएर हिँड्छ ! त्यो काठमाडौंमा साइकलमा हिँड्थ्यो । अँ, म साइकलमा हिँड्थें, साँचो कुरा हो । त्यो हेर्दाहेर्दै माननीय भयो, सांसद भयो । मन्त्री बन्यो । प्रधानमन्त्री भयो । यो सुहाउने कुरा हो ? एउटा गाउँको झुत्रेझाम्रे, भैंसी गोठालो !

मदन भण्डारीको सन्दर्भमा पनि अलिअलि त्यस्ता आलोचनाहरु पनि आउँछन् । तर, जनताको शासन… ।

हामीले भारतमा हेर्‍यौं भने राजतन्त्रहरुलाई अंग्रेजले समाप्त पारिदियो र लर्डहरुलाई भारतीयहरुले लेखेटिदिए । त्यसपछि भएका राष्ट्रपति कस्ता थिए भन्दा ती साधारणभन्दा साधारण थिए । दलित जातिबाट । राजा महाराजाले दिने संविधानको अगुवाइ संवैधानिक समितिका सभापति अम्बेडकरले गरे । एकजना हेपिएका मुस्लिम राष्ट्रपति बने । राजेन्द्रप्रसाद गरीब परिवारको हुनुहुन्थ्यो । स्कुल जाँदाखेरि यमुना तरेर जानुपथ्र्यो । लोकतन्त्र भनेको यस्तै हो ।

तर, सामन्ती मानसिकताका मानिसहरुलाई यो डाइजेस्ट हुन गाह्रो हुन्छ । पच्न गाह्रो हुन्छ । बुझेकै मान्छेहरुले पनि कहिले–कहिले बहकिएर लेख्या देख्छु । यस्तो विरोधहरु केका लागि ? हामीले थाहा पाउनुपर्छ ।

अनि जनताको भलो हुन्छ !

कहिल्यै पनि पार्टीभित्र, आन्दोलनभित्र देशका कुरा नगर्ने, जनताको कुरा नगर्ने, मेरो के भयो त, मैले के पाएँ त भन्ने । एकपल्टकोले पनि चित्त नबुझ्ने, दुईपटकले पनि चित्त नबुझ्ने कति वर्ष चलाउँदा पनि चित्त नबुझ्ने प्रवृत्तिहरु… । जनताको चिन्ता नगर्ने, आफ्नो मात्रै चिन्ता गर्ने हो भने त अनि जनताको भलो हुन्छ कसरी ? त्यसकारण जे भनिन्छ, त्यसअनुसारको आचरण गर्नुपर्छ ।

मैले थुप्रै ठाउँमा बोल्दाखेरि भन्ने गरेको छु । भर्खरै पनि बोल्दा भनेको थिएँ, हरिभक्त कटुवालको एउटा कविता मैले धेरै सन्दर्भमा प्रयोग गरेको छु, ‘साथीहरु’, त्यहाँ साथीहरु भनिएको छैन, प्रीय जूनलाई हेर्दा ठाढैबाट हेर । नजिकबाट होइन । नजिकबाट हेर्‍यौं भने त्यहाँ दाग, धब्बा देखिन सक्छ ।

नेताहरुको पनि भनाइ त्यस्तो हुन्छ– मैले गरेका कामतिर नहेर, मैले भनेका कुरातिर मात्रै हेर । मेरा भनाइ र मेरा गराइहरु दाँजेर नहेर । मैले भनेका आदर्श र मैले अपनाएको व्यवहार त्यसरुपमा तुलना नगर । टाढैबाट हेर प्रिय, नत्रभने दाग धब्बा देखिन सक्छ । यस्तो भन्यौं भने हामीले मदन भण्डारीका विचारलाई अगाडि लान सक्दैनौं ।

मदन भण्डारी चमत्कारिक व्यक्तित्व

आज असाढ १४ । सायद आसाढ १४ एउटा सामान्य दिन नै हुन्थ्यो होला । तर, हामी नेपालीहरुका लागि नेपालमा परिवर्तन चाहनेहरुका लागि नेपाली समाज अग्रगतिमा जाओस् भन्नेहरुका लागि…. र यसलाई संस्थागत बनाएर अगाडि जान प्रतिवद्ध हुने नयाँ पुस्ताका लागि आजको दिन एउटा विशेष दिन भएको छ । जननेता मदन भण्डारीको ६९ औं जन्म दिन ।

यस दिनको उपलक्षमा म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा जुन विचारले नेपाली समाजलाई परिवर्तन गरेर यहाँसम्म ल्याएको छ, त्यस विचारका प्रणेताप्रति अत्यन्तै आदभावसाथ, सम्मानसाथ श्रद्धासुमन अर्पण गर्दै यस विचारले सफलता पाएको र यसको प्रतिफल सबैले प्राप्त गर्दै गरेको अवस्थामा म सबैमा बधाइ पनि भन्न चाहन्छु र शुभकामना पनि भन्न चाहन्छु ।

जननेता मदन भण्डारीको सन्दर्भमा बोल्न थुप्रै विषयहरु छन् । उहाँका योगदानका थुप्रै पाटाहरु छन् । धेरै ठूलो योगदान छ । उहाँका प्रतिभाका थुप्रै आयामहरु छन् । र, ती योगदानहरुको सन्दर्भमा, त्यसको असर कहाँ–कहाँ छ , हिजो के असर पर्‍यो, आज के असर परिरहेको छ, भोलि के असर पर्नेछ । यस सन्दर्भमा पनि धेरै संक्षिप्तमा चर्चा गर्नु सम्भव हुँदैन ।

उहाँको व्यक्तित्व एउटा सफल र चमत्कारिक व्यक्तित्व । र, त्यो व्यक्तित्वका विभिन्न सफल र चमत्कारिक त्यस्तै आयामहरु, जुन हरेक आयामले उहाँका विचारलाई बल दिन, उहाँका विचारलाई फैलाउन, लोकप्रिय बनाउन र सफल बनाउन योगदान गरेको छ । असाधारण योगदान । ती कुराहरु संक्षिप्तमा चर्चा गर्न त्यति सम्भव छैन । हामीले निकै समय लगाएर नै चर्चा गर्नुपर्छ । र, यससम्बन्धमा त्यतिकै व्यापक जानकारी हुन जरुरी छ । अर्को विश्लेषणको पाटो त्यत्तिकै सावधानीका साथ, सतर्कताका साथ सही विश्लेषण हुन पनि जरुरी छ । त्यसकारण यो झन कठीन विषय हुन्छ ।

हुन त आज पनि हामी सुन्ने गर्छौं यदाकदा, म अरु कुरा त मान्छु, तर, मार्क्सवाद मान्दिनँ भन्ने विद्वानहरु पनि पाइन्छन् ।

दुईटा कारण छन्, एउटा मार्क्सवाद के हो भन्ने बुझेको छैन, नबुझिकन के मान्नु ? मान्दिनँ भन्दिए सजिलो भैगो । बुझ्या छैनन्, मान्दैनन् । अर्को एउटा लहैलहैको वैचारिक पूर्वाग्रह छ । त्यसकारण मान्दैनन् । मान्यो भने आफ्नो पनि कल्याण हुन्थ्यो, समाजको पनि कल्याण हुन्थ्यो, तर मान्दैनन् । किनभने, त्यहाँ एउटा वैचारिक आग्रह छ । …. मार्क्सको त विरोध गर्छन् भने अरुको विरोध हुनु धेरै ठूलो कुरा होइन ।

तर, पनि जननेता मदन भण्डारीका विचारहरुको विरोध गर्न त्यस्तो सजिलो छैन । जननेता मदन भण्डारीका विचारहरुको वैचारिक, सैद्धान्तिक पूर्वाग्रहका कारणले, पूर्वाग्रही दृष्टिबाट विरोधका लागि विरोध गर्न सक्छ कसैले । तर, उहाँले अगाडि सार्नुभएका मान्यताहरुको विरोध सहज छैन । Online खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *