ट्याक्सी व्यवसायीहरुको प्रश्न : निजी गाडीमा कोरोना नलाग्ने, ट्याक्सीमा मात्रै लाग्ने

  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो लकडाउन भएपछि ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफुहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।

कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि समस्या भएको भन्दै व्यवसायीले शान्तिपूर्ण प्रदर्शन थालेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ गते सम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोधस्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभाग मार्फत सरकारलाई बुझाइएको बताए ।

व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् ।

उनीहरुले स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यस अघि नै ज्ञापन पत्र बुझाएको तर सरकारले बेवास्ता गरेकोले आन्दोलन गर्नुपरेको बताए ।

दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *