रोम : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटालीमा एकै दिन ३६८ को ज्यान गएको छ। यससँगै इटालीमा भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८०९ पुगेको अल्जजीराले उल्लेख गरेको छ।
यसैगरी २४ हजार ७४७ मा संक्रमण पुष्टि भएको इटालीको नागरिक सुरक्षा प्राधिकरण (सीपीए)ले जनाएको छ।
चीनपछि इटालीमा कोरोना संक्रमण अत्यधिक फैलिएको छ। यससँगै युरोपियन मुलुकहरूमा तीव्र रूपमा संक्रमण फैलिरहेको छ। इटालीपछि स्पेनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ। यससँगै स्पेनमा कोरोना संक्रमणका कारण २८८ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ।
फ्रान्समा पनि थप २९ जनाको ज्यान गएपछि मर्नेको संख्या १२० पुगेको छ। त्यस्तै बेलायतमा ३५ जनाले ज्यान गुमाइसकेका छन्।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वभर कोरोना संक्रमण ५ हजार ७४६ ले ज्यान गुमाइसकेको पुष्टि गरेको छ। त्यस्तै १ लाख ५३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ।