महिला प्रशासकले हाँकेका दुई हिमाली जिल्ला

  •  
  •  
  •  
  •  
  •  
  •  

काम विशेषले जिल्ला प्रशासन कार्यालय पुगेका सेवाग्राहीहरू प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कुर्सीमा महिला देखेपछि छेउमै रहेका पुरुष कर्मचारीतर्फ फाइल सोझ्याउँछन् ।

सिडिओको कुर्सीमा कहिल्यै महिला बसेको नदेखेका ग्रामीण भेगका सर्वसाधारणले पुरुष मात्र सिडिओ हुन्छन् भन्ने सोचाई राखेर पुरुष कर्मचारीतर्फ फाइल सोझ्याउनु स्वभाविक पनि हो । यस्तो दृष्य विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुमा पटक–पटक देख्न पाइन्छ । किनभने त्यहाँ विगत एक महिनादेखि सिडिओका रूपमा रमा आचार्य सुवेदी छिन् ।

यो हिमाली जिल्लामा सिडिओ मात्र नभई सहायक सिडिओको जिम्मेवारीमा पनि महिला नै छिन्, लक्ष्मीकुमारी शाही ।

रमाले ३ माघ २०७६ मा सोलुखुम्बुको सिडिओको जिम्मेवारी पाएकी हुन् । शाहीले भने १८ चैत २०७५ देखि सहायक सिडिओको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । २०६७ मा निजामति सेवामा प्रवेश गरेकी हुन्, दार्चुलाकी शाही । सिडिओको जिम्मेवारी पाएकी सुवेदी भने लामो समयदेखि निजामति सेवामा थिइन् । र, सोलुको प्रमुख प्रशासकको जिम्मेवारी अघि गृहमन्त्रालयको गुनासो व्यवस्थापन शाखामा उप–सचिव थिइन् ।

अन्य हिमाली जिल्लाको तुलनामा सोलुखुम्बु अलि संवेदनशील मानिन्छ । २० जेठ ०७६ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित छेस्काममा रहेको प्रहरी चौकी ‘कब्जा’ गरेको खबर राजधानीसम्म आइपुग्यो । यद्यपि, सो समूहले चौकी कब्जा गरेको भन्ने ‘खबर’ अफवाह मात्र रहेछ भन्ने पछि मात्र पुष्टि भयो । तैपनि, विप्लव समूहको केही प्रभाव रहेको भोजपुरसँग सीमा जोडिएकाले राजनीतिक रूपले यो जिल्लालाई संवेदनशील नै मान्ने गरिएको छ ।

यसबाहेक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि उत्तिकै प्रभाव छ, सोलुखुम्बुमा । प्रतिनिधि सभामा सत्तारुढ नेकपाले विजय हासिल गरेको छ । कांग्रेस नेता बलबहादुर केसीको गृहजिल्ला भएकाले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच बेला–बेलामा द्वन्द्व पनि हुने गरेको थियो । सुवेदी सिडिओका रूपमा सोलुखुम्बुमा आएपछि आफूलाई अभिभावक भेटेजस्तो महसुस भइरहेको शाही बताउँछिन् । भन्छिन्, ‘आफ्नै दिदी, आफ्नै आमा भेटेजस्तो सहज महसुस गरेकी छु ।’

जिल्लाका सबै सरकारी संयन्त्रको नेतृत्व लिने निकाय हो, जिल्ला प्रशासन कार्यालय । पछिल्ला वर्षहरूमा महिलालाई पनि सिडिओ दिने प्रचलन बढेको छ । यसअघि जिल्लामै तीन जना सिडिओसँग काम गरिसकेकी शाहीले भविष्यको सिडिओका रूपमा तयारी गराउने तरिकाले सुवेदीले काम सिकाउने गरेको बताइन् ।

माघमा जब सुवेदी सोलुखुम्बुको सिडिओ बनेर आउने भइन्, कतिपयले ‘महिलालाई महिलाले नै अप्ठेरोमा पार्छन्, सिडिओ बनेर महिला नै आउँदैछिन्, त्यसैले सतर्क रहनू’ भन्दै कान फुकेका पनि रहेछन् । तर, उनीहरूले सचेत गराएजस्तो व्यवहार शाहीले भोग्नु परेन ।

‘यस अगाडि र अहिले सिडिओमा ‘जेन्डर’बाहेक केही फरक छैन,’ शाही सुनाउँछिन्, ‘बरु महिला सिडिओ भएकै कारण हामी अझ बढी भावनात्मक रूपमा नजिक भएका छौँ । हामीबीचको भावनात्मक सम्बन्ध झन् बलियो भएको छ ।’

पहिलोपटक जिल्ला प्रहरी कार्यालय (सोलुखुम्बु)को जिम्मेवारी पाएका डिएसपी टेकुनन्द लिम्बूका लागि जिल्ला प्रहरी प्रमुख भएर सिडिओसँग काम गरेको यो पहिलो अनुभव हो । ‘कानुन पालना गराउन सवालमा सक्रिय र स्पष्ट हुनुहुन्छ,’ लिम्बू भन्छन्, ‘त्यसैले, उहाँहरूको नेतृत्वमा काम गर्न हामीलाई पनि सहज भएको छ ।’

उमेर र अनुभवका कारण पनि शाही भावुक प्रकृतिकी छिन् भने सुवेदी व्यवहारिक । कहिलेकाहीँ शाही मानवीय भावनाका आधारमा निर्णय गर्न खोज्छिन् । मानवीय बन्न खोज्नु राम्रो भए पनि त्यसले कहिलेकाहीँ आफैँलाई समस्यामा पार्न सक्ने भनेर शाहीलाई सचेत गराइरहेकी हुन्छिन्, सुवेदी ।

लिम्बूअघि सोलुखुम्बु प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी नारायण चिमोरिया दुवैलाई जिल्लाका सफल सिडिओ र सहायक सिडिओ भन्न रुचाउँछन् । ‘दुवै जना ‘इन्टिग्रिटी’ भएको कर्मचारी हुनुहुन्छ,’ चिमोरिया भन्छन्, ‘त्यही कारण उहाँहरूसँग काम गर्न निकै सहज भयो ।’

सुवेदी सिडिओको जिम्मेवारी लिएर सोलुखुम्बु पुगिन्, सुवेदी–शाहीको जोडीले यो छोटो अवधिमा सुधारको काम थालेको छ । जस्तो, भर्खरै जिल्लाका सबै सरकारी कार्यालयमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको स्थायी सरकारी मोबाइल नम्बर व्यवस्था गरिएको छ । चिमोरिया भन्छन्, ‘उहाँहरू नागरिक र सेवाग्राहीप्रति उत्तरदायी हुनुहुन्छ भन्ने कुरा यसबाट देखिन्छ ।’

चिमोरिया दबाब र प्रभावमा नपर्ने, अनि कानुन पालनामा निकै सजग प्रशासकका रूपमा सुवेदी र शाहीलाई लिन्छन् । महिला प्रशासकका रूपमा सोलुखुम्बुमा सँगै काम थालेपछि सुवेदी र शाहीसँग रोचक अनुभव पनि छन् । जस्तो, सिडिओ कार्यालयमा पुगेका सेवाग्राहीले जब सिडिओ र सहायक सिडिओको कुर्सीमा महिलालाई देख्छन्, उनीहरू हच्किने गर्दा रहेछन् । ‘नेम प्लेटमा महिलाको नाम देखेपछि उनीहरू एकछिन अलमलमा पर्छन्,’ शाही सुनाउँछिन्, ‘एकछिन आश्चर्य मानेपछि ‘तपाईंहरू नै सिडिओ र सहायक सिडिओ हो र ? भन्दै आउँछन् ।’

जिल्लाका सुरक्षा निकायलगायत प्रशासनिक र अन्य कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत हुन्छन् । त्यसैले, जिल्ला प्रशासन कार्यालयको नेतृत्व गर्ने सिडिओमाथि राजनीतिक दबाब बढी नै हुन्छ । यद्यपि, अन्य जिल्लाको तुलनामा सुवेदी र शाहीले उति साह्रो राजनीतिक दबाब झेल्नु परेको छैन । सिडियो र सहायक सिडियो दुवै जना महिला भएकाले मात्र होइन, जिल्लाका सबैजसो जनप्रतिनिधि पुरुष भएकाले पनि राजनीतिक दबाब कम हुने गरेको अनुमान छ शाहीको । ‘जति सहजै पुरुष सिडिओलाई दवाव दिन सक्थे त्यति सहजै महिलासँग सक्दैनन्,’ शाही भन्छिन्, ‘त्यसैले होला, हामीले उति साह्रो राजनीतिक दबाब झेल्नु परेको छैन ।’

दार्चुलामा जन्मेकी शाही सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला सहायक सिडिओ बन्न पाउने महिला अधिकृत हुन् भने प्युठानमा जन्मेकी सुवेदी पनि मध्यपश्चिम क्षेत्रबाट पहिलो महिला सिडिओ बन्न पाउने अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *