एक हजार बेडको आइसाेलेसन वार्ड बनाउने ओली सरकारको निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : कोरोना भाइरस (को भिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले राजधानीमा १२० वटा सघन उपचार कक्ष (आईसीसीयू) र एक हजार बेडसम्मको आइसोलेसन कक्ष तत्काल निर्माण गर्ने भएको छ।कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले प्रदेश स्तरीय अस्पतालमा समेत एकसय सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ। सोको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन समेत दिइएको छ।

उच्चस्तरीय संयन्त्रको संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीरअस्पताल र पाटन अस्पतालमा २०/२० वटा सघन उपचार कक्ष थप्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको कार्यालयका सचिव एवं उच्चस्तरीय संयन्त्रका सदस्य सचिव नारायणप्रसाद बिडारीका अनुसार भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा २२० बेड र खाने पानीको तालिम केन्द्रमा ६० बेडको आइसोलेसन वार्ड बनाउने निर्णय गरिएको छ।

उनकाअनुसार आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय, टेकु अस्पतालमा एक सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरूमा एकसय र इचङ्गुनारायणस्थित सैनिक ब्यारेकमा २५० बेडका आइसोलेसन वार्ड बनाउने निर्णय बैठकले गरेको छ। प्रदेश सरकारले पनि आवश्यकता अनुसारको आइसोलेसन वार्डको व्यवस्था गर्नसमेत बैठकले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *