आयुर्वेदिक औषधि बेसार र अदुवाकाे मजाक नउडाउन प्रधानमन्त्रीकाे आग्रह

0
8

काठमाडाैँ, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरमा राेग प्रतिरोधी क्षमताकाे विकास गर्नमा बेसारजस्ता आयुर्वेदिक औषधिकाे प्रयाेग बढाउन आफूले गरेको आग्रहकाे मजाक नउडाउन आग्रह गर्नुभएकाे छ ।

आइतबार अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीहरूले बेसारजस्ता औषधिजन्य पदार्थकाे मजाक उडाएकाेमा चित्त दुखाउनुभयाे । सनातन रूपमा हाम्राे भान्सामा प्रयोग हुँदै आएका बेसार, अदुवा, मेथीजस्ता औषधिजन्य मसला ऋषिमुनि र आयुर्वेदिक खोज एवं प्रयोगबाट प्रमाणित भएका हुनाले यसलाइ हल्का रूपमा नलिन अनुराेध गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ । आयुर्वेद र योग असाधारण औषधि हुन्, यिनको प्रयोग गराैँ ।’

प्रधानमन्त्री ओलीले थप भन्नुभयाे, ‘मानव जातिको सर्वाेपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ।’ उहाँले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमै परेकाे बताउँदै अब यसलाई बदल्नुपर्ने र समृद्ध नेपाल बनाउनुपर्ने बताउनुभयाे ।

व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्ने बताउँदै उहाँले योगबाट शरीरलाई स्वस्थ्य र बलियाे बनाउनेमा जाेड दिनुभयाे । साथै राेग प्रतिराेधी क्षमता बढाउन समेत याेग र आयुर्वेदिक उपायहरूकाे महत्व रहेकाे उहाँले बताउनुभयाे ।

अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा प्रकाशित ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तक को भिडियो कन्फ्रेन्स मार्फत उहाँले विमोचन समेत गर्नुभएकाे छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको भन्दै यसलाई व्यापक बनाउन आग्रह गर्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here