मन्थली नगरपालिका – गाडी नगुड्दै कालाेपत्रे भत्कियाे, कराेडौं रकम पानीमा

  •  
  •  
  •  
  •  
  •  
  •  

मन्थली,असार । रामेछापको मन्थली नगरपालिकाको कराेडौं लगानीमा गरिएको कालोपत्रे ४ महिना पनि टिक्न सकेन । मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको चार महिनामै दुईपटक भत्किसकेको छ ।
देवकोटा चोकबाट बसपार्कसम्म १ हजार ८ सय मिटर सडक कालोपत्रे गरी गत फागुनबाट एकतर्फी गाडी सञ्चालन गरिएको थियो ।

लकडाउनको कारण गाडीहरु खासै गुडेका छैनन् तर कालोपत्रे उप्किएर मर्मत गरिएर पनि पुनः भत्किएको छ । मर्मत गरिएको सडकको कालोपत्रे पुनः उप्किनुका साथै सो सडक खण्ड अन्तर्गत निर्माण गरिएको कजवे समेत भत्किएकाे छ । यसले गर्दा पानी जमेर यातायात सञ्चालन हुन नसकेपछि एकतर्फी सञ्चालन हुँदै आएको मन्थली बजारको बीच सडकबाटै सवारी दोहोरो सञ्चालनमा ल्याइएको छ ।

कजवे भत्किएर ठाडो परेको रडले गाडीको टायर पञ्चर गराउने र पानी जमेको कारण मोटरसाइकल दुर्घटना समेत बढेकाेले एकतर्फी सञ्चालन हुँदै आएको यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
कजवेमा जमेको पानी खोल्दा स्थानीयको खेतमा लगाएको बाली नष्ट गर्ने भएकाले स्थानीयले समेत कजवेमा जमेको पानी खोल्न अवराेध गरेका छन् । यसले यातायात सञ्चालन गर्न नसकिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् ।

मन्थली बजारमा यातायात सहज बनाउनको लागि नगरपालिकाको लगानीमा निर्माण गरिएको सडकमा चार महिना पनि राम्रोसँग गाडी नगुड्नु नगरपालिकाको लागि लज्जास्पद विषय भएको स्थानीयको भनाई छ । करोडौं लगानी गरेर निर्माण गरिएको सडकमा चार महिना पनि राम्रोसँग गाडी नगुड्दा आफूलाई दुःख लागेको मन्थली नगरपालिका प्रमुख बस्नेतले बताएका छन् ।

सो सडक ४ करोड १७ लाख ७१ हजारमा खाम्पाचे नाइल जेभी कन्स्ट्रक्सनले ठेक्का पारेको थियो । सो रकममध्ये ४ करोड, ३ लाख ६९ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *