मलेसिया पुगेको छोरा १ वर्षदेखि सम्पर्क विहीन, बाबुआमा छोराको खोजीमा भौतारिदै-सिएर गर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट, २८ फागुन । वैदेशिक रोजगारीको लागि मलेसिया गएको छोरो विगत १ वर्षदेखि सम्पर्कविहीन भएपछि रौतहटका खड्का दम्पत्ति छोराको भोक निन्द्रा हराएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना निवासी ५० वर्षीय रामजीबहादुर खड्का र उनकी श्रीमती सानुकुमारी खड्काले आफ्नो २३ वर्षीय कान्छो छोरा रुपेश खड्का विगत १ वर्षदेखि मलेसियाबाट सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन सबैलाई आग्रह गर्नु भएको छ ।

करिब ३ वर्ष अगाडि आफ्नै फुपुको पहलमा कन्काइ मेनपावर मार्फत मलेसिया गएका रुपेश १ वर्षदेखि सम्पर्कमा नआएपछि चिन्तित बन्दै खड्का दम्पति छोराको खोजीमा भौतारिएका छन् । १ वर्ष अघिसम्म नियमित रुपमा पैसा पठाइरहने र बारम्बार घरपरिवारसंग सम्पर्कमा रहिरहेका रुपेश अचानक सम्पर्क विहीन भएपछि छोराको अवस्था थाहा पाउन पाएमात्र पनि सन्तोष हुने भन्दै खड्का दम्पति छोराको खबर जान्न यताउता भौतारिदै हिड्न थालेका हुन् । कृषि विकास बैंक चन्द्रपुरमा पियन पदमा कार्यरत रामजीले छोरालाई मलेसिया पठाउने आफ्नै बहिनीसंग छोराको बारेमा सोध्दा रुपेशले पहिलाको कम्पनीबाट काम छाडेर भागेको भन्दै पन्छिने गरेको गुनासो गर्नुभयो ।

बहिनीले रामजीलाई रुपेशलाई मलेसियाको एउटा होटलमा वेटरको काम गर्न पठाएको तर काम गरेको ६ महिनामै सो काम छाडेर भागेकाले त्यस्को जिम्मा मेनपावरले नलिने जवाफ दिने गरेको गुनासो पनि उहाँको छ । काममा लागि भनेर गएको छोरा काम छाडेर अर्कै ठाउँमा भागेर काम गरेको सुनेपछि रिसाएर छोराको वास्ता नगरेको बताउने रामजीले धेरै लामो समय बित्दापनि छोरो सम्पर्कमा नआएपछि तनावमा परेको बताउनु हुन्छ ।

निरक्षर रहेका खड्का दम्पतिलाई छोरोको खोजी गर्न कुन कार्यालयमा जानुपर्छ, के गर्नुपर्छ भन्ने ज्ञान तथा जानकारी पनि छैन् । केहि दिनअघि उनै बहिनीको सहयोगमा खड्का दम्पत्तिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छोराको खोजीको लागि निवेदन पनि दिएका थिए । ‘ सरहरुले पनि काम छोडेर भागेको रहेछ भन्नुभएको छ’ उहाँले भन्नुभयो, ‘ आफुहरुलाई कुनै जानकारी आएमा खबर गर्छु पनि भन्नु भएको छ । छोराको अवस्थामा जान्न पाए मन ढुक्क हुन्थ्यो ।’

छोरा विदेशी भूमि जेलमा प¥यो कि वा केही नराम्रो भयो कि भन्ने चिन्ताले खड्का दम्पतिलाई सताउन थालेको छ । रुपेशकी आमा सानु कुमारीले छोरालाई अन्तिम पटक फोन गर्दा छोराले नभई अन्य मानिसले उठाएको फोनमा झगडा गरेको जस्तो, कुटेको जस्तो आवाज आएको सम्झना गर्नुहुन्छ । उहाँले छोराले फोनमा‘मेरो के गल्ती छ, मलाई कुरा गर्न दे’भनेको स्मरण गर्दै आफ्नो छोरालाई केही नराम्रो पो भयो कि भनेर भक्कानिनु हुन्छ ।

‘छोरालाई बोल्न खोज्दा उसलाई बोल्नै दिएनन्’ आँखाबाट बलिन्द्र धारा आँशु झार्दै आमा सानुकुमारी भन्नुहुन्छ, ‘न कसैले छोरालाई नराम्रो पो ग¥यो कि भन्ने तर्कना मात्र आइरहन्छ । एकपटक छोरासँग बोल्न पाएमात्र मनमा सन्तोष हुन्थ्यो । ’छोरा सकुशल रहेको मात्र थाहा भए मनमा सन्तोष हुने खड्का दम्पत्ति भनाइ छ । खड्का दम्पत्तिले आफ्नो छोरा रुपेशलाई सकुशल भए एकपटक घरपरिवारमा सम्पर्क गर्न वा उनलाई चिन्ने साथी भाईहरुले थाहा भएमा उनको बारेमा जानकारी गराउँन अनुरोध गरेका छन् ।

यदि छोरा आफुहरुसँग आफुहरुसँग रिसाएर वा कुनै कुरामा चित्त दुखाएर फोन नगरेको भएपनि नजिकका साथीलाई वा कसैलाई फोन गरेर सकुशल रहेको जानकारी दिएमात्र पनि मनमा सन्तोष हुने खड्का दम्पत्तिको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *