बसाइँ सर्नेको ताँतीले रित्तिँदै पहाडका बस्तीहरु

  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभा खाँदबारीका वीरेश राई व्यवस्थित बासका लागि सपरिवार मोरङको सुन्दरपुर झरे। पुख्र्यौली सम्पत्ति बेचेर तराई झर्ने उनी एक्ला होइनन्। कानुनी रीत पुर्याएर बसाइँ सर्नेको संख्या दिनदिनै बढेको छ। अझ पछिल्लो समय पहाडका जमिन बिक्री हुन छाडेका छन्।बिक्री नभएपछि त्यतिकै छाडेर हिंडिरहेका खबर आजको कारोबार दैनिकमा विराटनगरबाट मीनकुमार नवोदितले लेखेका छन्।

‘बिरामी हुँदा पैसा हुनेले पनि बेलैमा उपचार पाइँदैनन्। आफ्नोभन्दा सन्तानको सुरक्षित भविष्यको खोजीले मान्छे आफ्नो पुरानो थलो छाड्दै छन्,’ राईले भने। उनी प्रतिनिधि पात्रमात्रै हुन् । संखुवासभा मात्रै होइन पहाडी जिल्लाबाट बसाइँ सर्नेको ताँती नै लागेको छ पछिल्लो समय।

भोजपुर भुल्केका कृष्ण भट्टराई गतवर्ष इटहरी झरे। गाउँबाट धेरैजसो बाहुन–क्षत्री परिवार बसाइँ गएका छन्। तिनमा पूर्वशिक्षक, दलका अगुवा र जनप्रतिनिधि पनि छन्। दशकअघि २ सय २० घरपरिवार रहेका भुल्केका भट्टराई समुदाय ५८ मा सीमित भएको छ। धोदलेखानी ५ नेपालटोलका सबै बसाइँ गए।

छिमेकी र दाजुभाइले छाडेर गएपछि एक्लिएका मणिराम नेपाल पनि इटहरी झरे । उनका अनुसार गाउँबाट १२ घर बाहुन, १० क्षेत्री, ३ राई र २ घर तामाङ बसाइँ गए। हङकङ, सिंगापुर र बेलायती सेनामा नोकरीवालाको बसोबास रहेको धोद्लेखानी ३ को कटुन्जे गाउँमा केही पेन्सनवालाबाहेक अरूले पुरानो थलो छाडिसके।

मोरङमा प्रदेशका १४ जिल्लाका साथै रामेछाप, सिरहा, सप्तरी, सिन्धुली (दुम्जाका कोइरालाहरू बसाइँ गएका), धनुषा, रौतहटबाट समेत बसाइँ आउँछन्।

उदयपुरको गाईघाटमा खोटाङ र ओखलढुंगाका मानिसहरू झर्ने गर्छन् । सुनसरी पनि मोरङमा झैं प्रदेश १ भरका सबै जिल्लाबाट बसाइँ आउँछन्। यस्तै, झापामा ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट बसाइँ आउँछन्। मधेश आन्दोलनपछि सुनसरीको इटहरी झर्नेको चाप छ।

धेरै सुविधा भएको मानिने जिल्लामा बसाइँसराइको लर्को लागिरहने हो भने चाप थेग्नलाई हम्मे हुने अवस्था आउँछ।

कोशीका पहाडी जिल्लाबाट निकै अघिदेखि विराटनगर बसाइँ आउनेको भनाइमा मूल कारण उद्योगधन्दामा काम पाइने, औषधोपचारका लागि ठूला अस्पताल र केटाकेटी पढाउन स्कुल–कलेजको पहुँच सहज हुनु हो।

गाउँबाट अलि सजिला बजार र त्यहाँबाट अन्य सजिला ठाउँ बसाइँ जाने क्रम सहरीकरणले तीव्रता पाएका क्षेत्रमा सामान्य प्रक्रियाभित्र पर्छ । तर, लर्को थामिएन भने सहरी पूर्वाधारको पहुँचले बसाइँ अप्ठेरो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *